• admin
  • 0 Comments

महिनावारी बार्ने र लाजको विषय होइन

Original Post

 

(केनिशा अधिकारी, कक्षा–७, सेन्ट जेभिर्यस स्कुल, जावलाखेलमा अध्ययनरत छिन्)

‘महिनावारी भएकै कारणले पोहोर साल मैले दसैंमा टीका लाउन पाइनँ,’ कक्षा सातमा पढ्ने एक विद्यार्थीले भनिन्।

एक गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले त्यस्तो भनाइ राखिरहँदा मेरो मन अमिलियो। ९ देखि १६ वर्षका बालिकाहरू सहभागी उक्त कार्यक्रममा महिलालाई समाजले बुझ्ने र हेर्ने दृष्टिकोण लगायत यसका चुनौतीका बारेमा पनि छलफल गराइएको थियो। अझै पनि महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा मात्र स्वीकार्न सकिरहेको अवस्था छैन।

नेपालको विभिन्न भूभाग खासगरी पश्चिमभेगमा निकै जरो गाडेर बसेको यो परम्पराले आधुनिक सहरको पहिचान बोकेको राजधानीलाई समेत छोड्न सकेको छैन। विश्वकै शक्तिशाली मुलुक अमेरिकाको एक सहरमा रहेकी मेरी आफन्त दिदीलाई पनि महिनावारी हुँदा ११ दिन लुकाइएको सुनेकी थिएँ।

मेरो महिनावारी हुनुअघि नै त्यो सुन्दा म छक्क पर्दै मामुबाबासँग किन यसो गरिन्छ भनेर सोधेकी थिएँ। संसारको जुनसुकै कुनामा भए पनि खासगरी हाम्रो समाजलाई पुरातन र रुढीवादी सोचले छाडेको छैन भन्ने भान मलाई भयो।

‘सधैं झैं घरमै सानोतिनो पूजा लगाएर मेरो जन्मदिन मनाउने चलन छ। तर यसपालि महिनावारी भएकै कारण यो अवसर गुम्यो,’ अर्की एक सहभागीको पीडा थियो।

यी प्रतिनिधि मात्र हुन्। यस्ता धेरै उदाहरण हाम्रो समाजमा छन्। अझ मेरी मामु, अन्य मेरा नातेदारका अग्रजका कुरा सम्झिँदा पनि आङ नै जिरिंग भएर आउँछ।

महिनावारीलाई अझै पनि लाज र शरमको विषय बनाएर खुलेआम कुरा गर्ने वातावरण बनिसकेको छैन। यदि महिनावारी लाजको विषय हो र महिलालाई महिनावारी नै नहुँदो हो त के सृष्टि सम्भव छ त? यो सोचनीय विषय हो।

साधारण रुघाखोकी जस्तै गरी यो विषयलाई लिने हो भने यो त महिलाको अभिन्न अंश नै हो। यस विषयलाई महिलाले मात्र नभई हरेक पुरुषले पनि बुझ्नु र बुझाउनु उत्तिकै जरुरी छ। हुन त, प्रायः घरमा समेत स्यानिटरी प्याड देखिने गरी राखिँदैन। र उक्त प्याड किन्ने बेलामा पसलमा केटा मानिस नभएको अवस्था पारेर र सकेसम्म पत्रिकाले बेरेर ल्याउने गरिन्छ।

महिनावारीकै कारण दैनिक जीवन नै प्रभावित हुनु र साधारण सेवाबाट वन्चित हुनु भनेको महिलाको अधिकार खोसिए बराबर हो।

विगत केही समयदेखि महिनावारीलाई समाजले हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन भने देखिन थालेको छ। सबैले आआफ्नो तर्फबाट परिवर्तन ल्याउन सम्भव पनि छ।

संयुक्त परिवारमा जन्मेर हुर्किँदै गरेकी म ११ वर्षकी हुँदा पहिलो पटक महिनावारी भएँ। चेतनाको कुनै कमी थिएन। तर, पनि मनको कुनै कुनामा थियो कतै हजुरबा र हजुरआमाले पुरानै परम्परा पछ्याउँदै अँध्यारो कोठामा धेरै दिन पो लुकाउनु हुन्छ कि?

२१ औं शताब्दीमा आएर पनि यस्तो परम्परागत सोच विस्तारै हटाउँदै लानुपर्छ भन्दै मेरो हजुरबा-हजुरआमा स्वयंले मेरो महिनावारीलाई सामान्य रूपमा लिनुभयो। फलस्वरुप मैले ती दिनहरू उहाँहरूकै काखमा बसीबसी अन्य दिनसरह बिताएँ।

तर पनि मन्दिर र भान्छा भने सात दिनका लागि बन्द नै रहे मेरा लागि। विस्तारै यो सोच पनि परिवर्तन हुनेछ भन्नेमा म विश्वस्त छु। किनकी एकै पटकको परिवर्तन असम्भव झैं लाग्छ। र, यसले विद्रोहलाई निम्त्याउन पनि सक्छ।

महिनावारी भएका महिलालाई सहज वातावरण बनाइदिन उल्लेख्य रूपमा केही गर्न पर्दैन। मेरो घरमा जस्तै सहज वातावरण तय गरिदिनुको साथै बाहिर पनि पर्याप्त सार्वजनिक शौचालय, पर्याप्त पानी र सम्भव छ भने प्याड उपलब्ध गरादिने हो भने रुढिवादी अवस्था स्वतः परिवर्तन हुँदै जाने देख्छु।

विद्यालयमा महिनावारी बारे दिइएको शिक्षाले पहिलो महिनावारीमा मलाई सहज बनाएको थियो। यस्तै सहज म जस्ता अन्यले पनि पाउनुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =