• admin
  • 0 Comments

नाकाबन्दी र सम्बन्ध व्यवस्थापन |

By Sabina Dhakal, Former Galli Galli Staff

मंगलबार रातको ९:३० घरको फोनमा घन्टी बज्यो | कोहि आफन्तको फोन थियो, फोन निकै महत्वपुर्ण विषयका लागि थियो र विषय थियो: पेट्रोल अनलोड भयो चाहिन्छ भने लिन आउनु ऐले नै | त्यो फोन मेरो लागी थिएन, मेरो मान्यजनको लागी थियो जसका सुभ-चिन्तकले अपनत्व बढाउन पेट्रोल संग सम्बन्ध साट्दै थिए | मेरो मान्यजनसंगै म पनि गए जबकी अघिल्लो दिन सोहि पम्प बाट मलाई चाहिने पेट्रोल लाइन बसेर हाली सकेको थिए | मलाई पेट्रोल भन्दा रोचक त्यो माहोल लाग्दै थियो | यस्तो माहोल जहाँ ५० जना भन्दा ज्यादा व्यक्तिहरु सम्बन्धको तादो झुण्डाएर पेट्रोल संग आफ्ना सम्बन्ध, भावना अनि मर्दा-पर्दा गर्ने सहयोगका वाचा साट्दै थिए | यति कुराले मात्र माहोलको वर्णन कहाँ सकिन्थ्यो र ? चोरको समुहले कसैको घर चोर्न जादा सायद त्यस्तै माहोल सिर्जना हुँदो हो जस्तो पम्पको एउटा कोप्चोमा देखिन्थ्यो | त्यहाँ न ठुलो स्वर थियो, न उज्यालोको थोप्लो छिर्ने वातावरण न त यो मान्छे को हो भनेर चिनिने वातावरण नै थियो | सबका मुखमा फेटा र मास्क थिए आँखा मात्र पेट्रोलको खुशीले चम्किएका देखिन्थे | कोहि आफ्ना सवारी साधन लिएर बसेका, कोहि जर्किन (जर्किन पनि १० देखि ४० लिटर सम्मका), कोहि भने केहि नपाएर पानि भर्ने जार संगै उपस्थित थिए | यस्तो दृश्य जीवनमा पहिलो पटक देख्दै थिए |

नब्बे सालको भूकम्पको कथा सुनेर आत्तिने हाम्रा पुस्ताले ७२ सालको भूकम्प देखे, ४५ सालको नाकाबन्दीका बारेमा सुनेका हामी जस्ता अल्लारे युवाले नाकाबन्दी प्रतक्ष्य रुपमा देख्न मात्र हैन आफैले महसुस पनि गर्न सफल भए | भनिन्छ अनुभव पछि मात्र ज्ञान आउछ | नाकाबन्दीले चरम अभाव सिर्जना गरेको बेलामा अनुभव त थुप्रै कुराको भयो तर त्यो अनुभवले झन् प्रोत्शाहन दियो नाताबादलाई र कालो बजारलाई |

कालोबजार मौलाउनुको दोष पेट्रोल पम्पलाई नै लगाउने गरेको पाइएको छ जसमा सत्यता कतिको छ सम्बन्धित व्यक्तिनै जानुन | नाकाबन्दीको चरम बिन्दुमा कालोबजारी गरेकाले अदालतलेनै थुप्रै पेट्रोल पम्पलाई सिल गरेको खबर पनि नसुनिएका हैनन् | तर पनि समस्या जहाँको त्यहि छ र मान्छेका व्यवहार पनि जस्ताका तस्तै छन् | दिनको उज्यालोमा अफ्ठेरो हुने भएकाले पेट्रोल पम्प वालाहरु रातको सहारा लिन्छन् र प्राप्त पेट्रोल आधा आफैले तह लगाउछन् र आधा सर्वसाधारणलाई दिने गर्दछन | यहाँ चोरी रातमै हुन्छ, तस्करी र कालो बजारी रातमै हुन्छ र इन्धनको ओसार पसार पनि रातमै हुन्छ | ठिकै छ इन्धन जस्तो बहुमुल्य कुरो झल-मल्ल उज्यालोमा ल्याउन पनि त भएन |

यो अवस्था एकल पम्पको अवस्था होइन, समग्र सबै पम्पको हालत यस्तै नै हो | डिजेल होस् या पेट्रोल हरेक पम्पमा प्रसस्तै छन् र आइरहेका पनि छन् | तर नातावाद र कृपावादले जेलिएको नेपाली समाजमा दिनेले आफ्ना छानेर दिन्छन, लिनेले मै मात्र लिगौं- मेरै ढुकुटी भरौं भनेर लिन्छन् | अब यसमा गल्ति कसको ? मै लाउँ, मै खाउँ सुख सयल सबै मै गरु भन्ने प्रवित्ति भएका हामी सर्वसाधारणको ? नाताबाद र कृपाबादको जालो बाट फुत्किन नसकेको समाजको ? तागत र पहुँच भएका व्यक्तिहरुको ? या ५ लिटर पेट्रोल पाउने आशमा पाँचै घण्टा लाइनमा बसेर पेट्रोल नपाएर लुत्रुक्क परेर रित्तो हात फर्किने व्यक्तिको?

नेपाली समाज आदानप्रदानको आधारमा टिकेको समाज भन्दा फरक नपर्ला | सजिला होस् या अफ्ठेरा परिस्थिति, लिनु र दिनु नेपाली समाजको पहिचान हो र रहिरहनेछ | सरसर्ती हेर्दा आदानप्रदानले भाइचाराको भावनालाई निरन्तरता दिइरहेको छ जुन आफैमा निकै राम्रो कुरा हो | तर संग-संगै भाइचाराले सबैलाई समेट्नुको सट्टा आफ्नालाई मात्र समेटेर विभेद सिर्जना गरेको छ | सम्बन्ध दोहोरो मात्र टिक्छ र त्यहि दोहोरो सम्बन्ध स्थापनाका लागी मान्छे स्वार्थी बनेको छ | त्यहि स्वार्थले बाधिएर एउटा दिन चाहने व्यक्तिले अर्को दिनसक्ने व्यक्ति संग मात्र सम्बन्ध राख्न चाहने मान्छेको स्वभावलाई नाकाबन्दीले प्रष्ट संग देखाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =